A poem that my mother wrote
शीर्षक - कुरुप कोरोना
अचानक तेरो उपस्थिति?
हामीले बुझ्न सकेनौं
कठोर हृदय लिएर
तीखा दाह्रा, नङ्ग्रा फिजाउँदै
मानवतालाई कुल्चदै
आतंकको साम्राज्य फैलाएर
मान्छे मार्ने घृणित व्यापार गर्न
ए क्रूर समय ! तँ किन आइस्?
ए कुरुप कोरोना ! तँ किन आइस्?
हाम्रा सुन्दर जिन्दगीका घाँटी समाउदै
भोक खोसिस्, निद्रा चोरिस्
काम लुटिस्,सुख हरिस्
हाम्रो फूलजस्तो
उज्यालो वर्तमानलाई
कंकाल नबना
कलाविहीन कुरुप नाटक नदेखा
भयको आतयित छाँयाले छोप्दै
ए क्रुर समय! तँ किन आइस्?
ए कुरुप कोरोना! तँ किन आइस्?
त्रासैत्रासले थकित छन् मनहरु
भययुक्त मृत्युका समाचारले
कामेका छन् मन, मुटुहरु
दन्किरहेछ आगो चारैतिर
बिल्लिपाठ बनाउँदै
समय मुस्कुराइरहेछ
सखाप पार्न खोज्दै छ जगत
निल्न खोज्दैछ संसार
दन्त्यकथाको क्रुर राक्षसभन्दा भयानक
ए क्रुर समय ! तँ किन आइस्?
ए कुरुप कोरोना! तँ किन आइस्?
मानिसदेखि मानिस नै त्रसित हुनुपरेको छ
सारा बस्तीहरु शून्य छन्
घरहरु कारागारमा परिणत हुँदैछन्
आतंकको सुसेली गुन्जाइरहेछ अदृश्य कोरोना
मृत शहरजस्तै शून्य, शून्य
मुर्दा शान्ति चारैतिर
पलपल मरेर जिइरहेछौँ
बिश्वव्यापी महामारीको भयले
कोलाहल छ वातावरण
ए क्रुर समय! तँ किन आइस्?
ए कुरुप कोरोना! तँ किन आइस्?
तर.....हामी सचेत भैसकेका छौँ
तेरा हतियारमा खिया पर्नेछन्
दाह्रा नङ्ग्रा मक्किन थालिसके
घमण्डको संसार भत्काउने छौँ
तेरो खुसीको ताण्डव नृत्यलाई
पैतालाले कुल्चिएरै सखाप पार्ने छौँ ।
धुलो पिठो पारेर अस्तित्व मेटाउनेछौं
पानीको फोकासरी नै त हो तेरो जीवन
हाम्रो यो स्वर्गजस्तो धर्तीबाट
तँ अवश्य गलहत्तिने छस्
तैले सृजना गर्न खोजेको काला रातहरुमा
छिट्टै उदाउने छन् जून, ताराहरु
अवश्य झुल्कनेछन् सहस्र घामहरु
मुस्कुराउने छन् हाँसो र खुसीहरु ।
-मीरा आचार्य
I think this is worth sharing and posting. I have asked her to post it making a blogsite for herself where she can write but she hesitated to do that so here I did my part. 😛
Comments
Post a Comment